Sunday, August 18

नरेश र श्यामलाई सम्मान । कुवेर, शारदा र बिनोदलाई पुरस्कृत गरिने

चलचित्र पत्रकार संघ नेपालको मिति २०७६ जेठ १ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै संघले भट्टराई र स्मृतलाई सम्मान गर्न लागेको हो ।
संघले संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।
संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै चलचित्र पत्रकारितामा फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।
आगामी जेठ ७ मा हुन गईरहेको २०औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको संघका अध्यक्ष सन्दीप सापकोटाले बताउनुभएको छ ।साभार:-नेपाल कला डट कमबाट

प्रतिकृया दिनुहोस्