Saturday, October 19

स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : कुपिन्डे ताल

सल्यान । नेपाल विश्वका मानिसले स्वर्ग भनेर कल्पना भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ मन्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ ।
यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु ‘पानीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चोरी सिकारी र सरकारी निकायको बेवास्ताका कारण लोप हुँदै गएको यो बन्यजन्तु संरक्षण गर्ने हो भने यसैलाई हेर्नपनि लाखौँ मानिस आउनेछन् । किनकी यो बन्यजन्तु विश्वमा नै लोप हुँदै आएको छ ।
प्राकृतिक रुपमा भरीपूर्ण र पर्यटकीय हिसाकमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे ताल कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ ।
चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल ।
वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजनहरु समेत पुग्दछन् । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।
यसैपनि पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको सल्यान प्रकृतिले बरदान दिएको ठाँउ हो । प्रदेश नम्बर ६ मा परेको यो जिल्ला पर्यटकीय हिसाबले निक्कै मलिलो छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन । बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित छ ।
तर कतिपयले सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएकाले यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन् । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासले गर्दा सल्यानका अधिकांस मानिसहरुको जीवन अझै कष्टकर छ । परम्परागत कृषि पेशामा आधारित यहाँको आर्थिक प्रणाली सुधार उन्मुख छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्री, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता छ ।
सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर भूमि मानिन्छ । सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट यहाँ आउने गर्दछन् । तर प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा ओझेलमा छ ।
छाँयाक्षेत्र
नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यानको छाँयाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ ।
सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छाँयाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो । सल्यान सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्नेउक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ । त्यहाँ पुग्ने जो कोहीलाई छाँयाक्षेत्र साँच्चिकै आफै छाँययामा परेको महसुस हुन्छ ।
अजबथब
टाढा–टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानी लगायतको राम्रो व्यवस्था हुनसकेको छैन । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
खैराबाङ
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नं।११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट एक घण्टा र सदरमुकाम खलंगा हुँदै साढे दुई घण्टा लाग्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्छ । मख्यगरी शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन गर्नेहरुको भीड हुन्छ ।
फलाबाङ दरबार
यो सल्यानको धरोहर फलाबाङ दरबार हो । जिल्लाको फलाबाङ गाबिसमा पर्दछ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएको दरवार अहिले राज्यवाट संरक्षण पाउन नसक्दा अस्तित्व नै मेटिन लागेको छ । विं।सं।१८८५ मा निर्मित यो ऐतिहासिक महत्वको फालावाङ दरवार उचित संरक्षणको अभावमा अब तस्विरमा मात्र सिमित हुन पुगेको छ ।
जनयुद्ध ताका दरवार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरवारले आफ्नो अस्तित्व गुमाउन गयो । दरवारको अस्तित्व नभएपनी दरवार छेउ बटुकभैरव प्रांगणमा रहेको प्राचिन लिपिबद्ध अक्षरहरुले यो क्षेत्रको प्राचिनता तथा ऐतिहासिक महत्वलाई परिभाषित गरिरहेको देखिन्छ ।
कुमाख
समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाकै सबैभन्दा अग्लो पहाड हो । जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ ।
पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । स्थानीयहरुले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरु बाँझकाँडाको मोख्ला र कालागाउँ थदरामा रहेको गुफाबाट निस्किएकाले गुफाहरुको लम्बाइ निकै भएको भनाई छ ।
कुमाखको टुप्पोबाट १५ जिल्लाका भू–भागहरु देख्न सकिन्छ । कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरी, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँहरु एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न ससकिन्छ । कुमाख पहाडको चुचुरोबाट भारतको रुपैडियासम्म देख्न सकिन्छ ।
कपुरकोटको तरकारी
सल्यानको कपुरकोट तरकारीमा प्रख्यात । सल्यान रुकुमको प्रबेशद्धारमा रहेको कपुरकोट आसपासमा रहेका गर्पा, सिनबाङ, धनबाङ, रिम तथा रोल्पाका केही गाबिसका आफुले उत्पादन गरेको तरकारीलाइ कृषि उपज बजार कपुरकोटले कपुरकोट हाटबजार ल्याउन र बिक्रि बितरण गर्न अनुरोध समेत गरेको छ । तरकारी खरिदका लागि नारायगढ,बुटवल,नेपालगञ्ज,धनगडी,दाङ लगायतका ब्यापारी कपुरकोट आइ सकेको कृषि उपज बजार कपुरकोटका अध्यक्ष शोभाकर शर्मा बताउँछन् ।
कपुरकोटबाट मात्रै बर्षेनी ५ करोड भन्दा बढीको तरकारी निकासी हुने गर्दछ भने कपुरकोट आसपासका क्षेत्रमा सञ्चालन हुने एक दर्जन भन्दा बढि तरकारी बजारबाट करौडौ रुपैया बराबरको तरकारी निकासी हुने गर्दछ ।
सल्यानको सुन्तला
नेपालमा पाइने एक प्रकारको फल सुन्तला । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ । यो पतझड वर्गको वनस्पति हो । यसको बोटमा तीखो काँडा हुने गर्दछ ।
सल्यान जिल्ला सुन्तला राम्रो उत्पदन हुने जिल्ला हो । सल्यानको कोटमौला जिल्ला कै १ नम्बरमा पर्छ सुन्तला उत्पालनको मामिलामा । यहाँ बर्सेनी सुन्तला फलफुलको उत्पादनबाट प्रती ब्यक्ती लाँखौको आम्दानी हुने गर्दछ । यसका साथै सल्यानको सुन्तला आफै म गुणस्तर युक्त र स्वादिलो हुने हुनाले फलफुल किन्नको लागी दाङ, बुटवल, बाँके, सुर्खेत, आदी ठाउँबाट ब्यापारीहरू सल्यान जिल्लाका बिभिन्न ठाउँमा आउने गर्दछ्न ।
सल्यानी खुकुरी
नेपालमा आफ्नै पहिचान बनाएको सल्यानी खुकुरीलाई अब आधुनिकीकरण गरी उत्पादन सुरु गरिएको छ । आरन पेसामार्फत निर्माण गरिने सल्यान खुकुरी देश तथा विदेशमा समेत बढ्दो माग रहेको छ ।
सल्यानको खुकुरी उपहारको रुपमा प्रयोग हुन थालेपछि अहिले खुकुरीको माग ह्वात्तै बढेको हो । खुकुरी बनाउँदै आफ्नो जीवन गुजारा गरिरहेका शारदा नगरपालिका २ खलंगा विश्वकर्मा टोलका ६४ वर्षिय जुद्धवीर वि।क।ले पछिल्लो समयमा खुकुरीको माग बढेको बताउनु भयो ।-जनबोली बाट साभार

प्रतिकृया दिनुहोस्